प्रदेश सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर संघियता कमजोर पार्न खोज्यो: जितेन्द्र सोनल

जनकपुरधाम, ९ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर संघियता कमजोर पार्न खोजेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रदेश सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि विधेयक अध्यादेश सिफारिस गर्ने निर्णय गरेलगत्तै नेता सोनलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रदेश सरकारसँग बहुमत हुँदाहुँदै पनि प्रदेशसभालाई छलेर अध्यादेश मार्फत सरकार सञ्चालनको प्रयास गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको आरोप लगाए ।
उनले भने, ‘लोकतान्त्रिक विधि अनुसार प्रदेश सरकारसँग बहुमत रहेपनि प्रदेशसभालाई विजनेश नै नदिई कानूनलाई आफ्नो अनुकुल खेलाची गर्नका लागि अध्यादेश ल्याएर जनतालाई भ्रममा पार्न खोजिएको छ ।’
‘सरकारले अध्यादेश मार्फत सरकार चलाउन खोज्यो, यसले संघीयता संस्थागत हुँदैन, बरु संघीयतालाई संस्थागत गर्नका लागि हाउसमा ल्याई प्रक्रिया अनुसार सो अध्यादेशलाई पारित गर्नुपर्ने देखिन्छ । यसले संघीयताप्रतिको उत्तरदायित्व र सरकारको दायित्व निर्वाहले पनि संघीयता संस्थागत हुन्छ,’उनले भने ।’
नेता सोनलले संसद स्थगित रहेको अवस्थामा ल्याउन लागेको अध्यादेशलाई कार्यान्वयन गरिए यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
प्रदेशको विकास र सबलिकरणका लागि लोसपा सदैव अग्रसर रहेको भन्दै संसदबाटै सो विधेयक छलफल गरी पारित गर्नुपर्नेमा नेता सोनलले माग गरे ।
उनले भने,‘आपतविपद्, असहज परिस्थिति वा हाउस बोलाउन नसक्ने अवस्था रहेमा मात्र अध्यादेश ल्याउनुपर्ने हुन्छ, तर प्रदेश २ सरकार संघीयता संस्थागत गर्नुपर्ने बेलामा उल्टै अहिले लोकतान्त्रिक मूल्यमान्यता र कानूनको खिल्ली उडाएको छ ।’