जनकपुरधाम, ९ कार्तिक । ‘लुगा चाहिन्छ यहाँबाट लिनुहोस् । आफ्ना पुराना तथा लगाउन योग्य कपडा यहाँ दान गर्नुहोस् ।’

यो वाक्य लेखिएको थियो जनकपुरधाम–६ स्थित गिरनारी कुट्टी सन्यासी आश्रममा बनाइएको कपडा भण्डारमा । फलामले बनाईएको एउटा सानो घरजस्तै देखिने सो ठाउँमा हजारौं कपडाहरु यत्रतत्र छरिएका थिए ।

केहि मिनट नबित्दै करिव ५० बर्षका एक व्यक्ति इ–रिक्सामा दर्जनौं पुराना कपडाहरु लोड गरेर कपडा भण्डारको अगाडि गाडी रोके । इ–रिक्साबाट सबै कपडा निकालेर उनले सो ठाउँमा आफूले ल्याएका कपडाहरु राखेर मिलाउन थाले । हामी त्यसको ठिक साम्मुने रहेको एक किराना पसलबाट सबै हेरिरहेका थियौं । उनले करिव १५ मिनेटसम्म यत्रतत्र छरिएका सबै पुराना कपडाहरुलाई संकलन गरेर कपडा भण्डारमा मिलाएपछि त्यहाँबाट आफ्नो बाटो लागे । आफूसँग ल्याएका करिव दुई दर्जन पुराना कपडाहरु उनले त्यहाँ राखेर गए ।

केहिबेर पछि करिव १२ बर्षीया एक बालिका त्यहाँ आईन र आफूलाई चाहिने कपडा खोज्न थालिन । सायद उनको मनभित्र यहाँ पुराना कपडाहरुका बिच कुनै नयाँ कपडा पनि होला कि भन्ने अपेक्षा थियो । उनले मिलाएर राखिएका सबै कपडाहरुलाई एक एक गर्दै पसन्द गर्न थालिन् । धेरे बेर पछि उनले आफ्नो लागि एकजोड कपडा त्यहाँबाट उठाएर पुनः सबैलाई एकठाउँमा राख्दै आफ्नो बाटो लागिन् ।

त्यस ठाउँमा यो क्रम बिगत दुई बर्षदेखि दिनहुँ चलिरहेको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए । उनले तरुण दलको ६६औं स्थापना दिवसको अवसरमा आफूहरूले नै दुई बर्ष अघि यस ठाउँमा कपडा भण्डारको स्थापना गरेको बताए । उनले यहाँबाट दैनिक कम्तिमा दुई दर्जनको संख्यामा गरिव, असहाय र विपन्नहरुले आफूलाई आवश्यक पर्ने कपडा सहज रुपमा पाउने गरेको र हुनेखानेहरुले पनि दैनिक दर्जनौंको संख्यामा पूराना कपडाहरु यहाँ जम्मा गर्नेगरेको दावी गरे ।

गरिब, असहायहरुको लागि जाडोमा हुने समस्या र पीडालाई मध्यनजर गर्दै दलको जिल्ला कार्य समितिद्धारा निःशुल्क कपडा बैंकको स्थापना गरिएको हो । स्थापना गरिएको कपडा बैंकबाट जसलाई कपडाको आवश्यकता हुन्छ उनले कपडा फ्रि मा लिन सक्ने तथा कोहीसँग पुरानो वा नयाँ कपडा छ भने त्यसमा दान पनि गर्न सकिने साहले बताए ।

यसअघि पनि जनकपुरमा निःशूल्क कपडा बैंकको स्थापना गरिसकिएको छ भने हजारौं व्यक्ति लाभान्वित बनेका छन् । जनकपुरमा अब दुई वटा निःशुल्क कपडा बैंक भएपनि प्रचार प्रसार र जानकारीको अभावमा कपडा बैंकसम्मको पहुँचलाई निरुत्साहित गरिएको देखिएको उनले बताए । गरिब, असहायमा शिक्षाको कमीले गर्दा पनि उनीहरुलाई कपडा बैंक जनकपुरमा छ र त्यहाँ निःशुल्क कपडा पाईन्छ भन्ने चेतना एवं जानकारीको अभावमा यहाँसम्म पहुँच कायम गर्न नसकेको साहको भनाइ छ ।