नेपालमा प्रतिबन्धित लागुऔषधसहित महोत्तरीबाट ३ जना पक्राउ

जनकपुरधाम, ९ कार्तिक । नेपालमा प्रतिबन्धित लागुऔषधसहित महोत्तरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पंकज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
भारतको विहार राज्यको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको सम्सी सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जनालाई सोमबार राति प्रहरीले औरही नगरपालिका–४ स्थित सडकखण्डमा पक्राउ गरेको हो ।
उनीहरूका साथबाट प्रहरीले एक्सिप्लोन १०० एमएलको झोल पदार्थ ११ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट १६ पिस, नाइटाभेट ट्याब्लेट २१० थान, डाइजालेब ट्याब्लेट तीन थान र फेनारगन ट्याब्लेट तीन थान बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।