नेपाली मुक्केबाज सनिलले सर्बियाका अब्बासोभसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, ९ कार्तिक । साग स्वर्णधारी नेपाली मुक्केबाज सनिल शाही सर्बियाको बेलग्रेडमा सोमबारदेखि सुरु भएको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप अन्तर्गत ६७ केजी तौल समूहको अन्तिम ३२ मा पुगेका छन् ।
सोमबारका लागि तय भएको खेलमा इराकका खेलाडी इसाम अल ओहिदी उपस्थित नभएपछि सनिल स्वतः विजेता घोषित भएका हुन् ।
सनिलले बिहीबार आयोजक सर्बियाका अब्बासोभ भाखिदसँग अन्तिम १६ प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । दुई वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सनिलले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।
कात्तिक २० सम्म हुने प्रतियोगितामा सनिलसहित ४ नेपाली मुक्केबाजले भाग लिइरहेका छन् । भुपेन्द्र थापाले ६३.५ केजीमा, पुरन राईले ५७ केजीमा र रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।