एजेन्सी, ९ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) को अर्को सिजनमा खेल्ने दुई नयाँ फ्रेन्चाइज टोलीको टुङ्गो लागेको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले सोमबार दुई नयाँ फ्रेन्चाईज टिममा लखनऊ र अहमदाबाद थपिएको जनाएको हो ।

अब अर्को सिजनबाट आइपिएलमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सन्जिब गोयन्का ग्रुप (आरपिएसजी) ले ७ हजार ९० करोड भारुमा लखनऊ टिम खरिद गर्दा सिभिसी क्यापिटल्स पार्टनरले ५ हजार २०० करोड भारुमा अहमदाबादलाई किनेको हो ।

उनीहरुको सोमबार भएको अक्सनमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै आइपिएल फ्रेन्चाइज खरिद गरेका हुन् । सिभिसी क्यापिट्ल्स पहिलोपटक आइपिएलमा प्रवेश गरेको हो भने आरपीएसजीले भने यसअघि राइजिङ पुणे सुपरजायन्ट टिममा लगानी गरेका थिए ।

पुणेले सन् २०१६ र १७ सिजनमा आइपिएल खेलेको थियो । यो टिम सन् २०१७ को उपविजेता टोली हो । आइपिएलमा ८ भन्दा बढी टोलीले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०११ मा १० तथा सन् २०१२ र १३ मा ९–९ टोलीले सहभागिता जनाएका थिए ।

सन् २०१४ देखि २०२१ सम्म भने ८ टोलीको सहभागिता थियो ।