जनकपुरधाम, ९ कार्तिक । एसिड पीडित पर्साको वीरगञ्ज महानगरपालिका–३ छपकैया बस्ने मुस्कान खातुनालाई उपचारका लागि प्रदेश सरकारले थप ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले थप उपचारको पर्खाईमा रहेकी मुस्कानलाई थप ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले यसअघि पनि मुस्कानलाई ५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । त्यस्तै, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पनि एसिड पीडित मुस्कानलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् ।

मेयर सरावगीले एसिड प्रहारबाट घाइते मुस्कानलाई व्यक्तिगत रुपमा सहयोग गरेका थिए । आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापित ‘मेयर कल्याणकारी कोष’बाट खातुनलाई सहयोग गरेका थिए ।

प्रदेश सरकारले जनकपुरकी एसिड पीडित आरती साहलाई समेत उपचारका लागि ५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।