जनकपुरधाम, ९ कार्तिक । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि दुई वटा अध्यादेश सिफारिस गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थाापना गरि सञ्चालनमा ल्याईसकेको सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने छ ।

कृषि तथा प्राविधिक सम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहिन काम गरिरहेको पाईए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफत देखी कालो सूचिमा राख्ने सम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको साहले बताए ।

यसैगरी प्रदेश सरकारले ग्रिन सिटी, क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाइ, विजुली बत्ति तथा वृक्षारोपण कार्य संञ्चालन गर्ने निर्णय समेत गरेको प्रवक्ता साहले बताए ।