मुख्यमन्त्री कार्यालय घेराउ गर्ने चेतावनी पश्चात प्रदेशका मन्त्रीहरु राउतप्रति आक्रोशित

जनकपुरधाम, ९ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गर्ने र प्रदेश सरकारलाई नै हटाउने चेतावनी दिएपछि प्रदेशका मन्त्रीहरु उनीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले राउतलाई दलालको संज्ञा दिएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साहले आफूलाई ठूलो वैज्ञानीक भन्न रुचाउने जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत दलाल रहेको आरोप लगाएका हुन् ।
उनले सिके राउत देशभित्र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको र अन्तर्राष्ट्रियस्तरमा अमेरिकाको दलाल बनेर नेपालमा अस्थिरता ल्याउन खोजिरहेको आरोप समेत लगाए ।
मन्त्री साहले सिके राउतसँग सम्पूर्ण नेपाली जनतालाई सचेत हुनुपर्ने र अहिले उनको प्रतिकार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यस्तै, पूर्वमन्त्री सुरेश मण्डलले समेत सिके राउत र उनका कार्यकर्ताहरु टेबलेटियाहरुको समूह रहेको आरोप लगाएका छन् ।
यता, डा.राउतले हिरासतमा रहेका आफ्ना १७ जना कार्यकर्तालाई प्रहरीले यातना दिईरहेको र भेटघाटसमेत गर्न नदिईरहेकोले अब प्रदेश सरकारबिरुद्ध प्रदर्शनमा उत्रिने चेतावनी दिएका छन । डा. राउतले हिरासतमा रहेका आफ्ना कार्यकर्ताको रिहाइका लागि आन्दोलनको तयारी गर्न आह्वान समेत गरेका छन् ।