लहानमा ट्रमा सेन्टरको स्थापना छिट्टै हुन्छः मन्त्री साह

–महेश सिंह
सिरहा, ९ कार्तिक । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र साहले सिरहाको लहानमा ट्रमा सेन्टर स्थापनाका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा लहान सिटी हेल्थ केयर प्रालिको उद्घाटन गर्दै मन्त्री साहले प्रत्येक स्थानीय तहमा स्वास्थ क्षेत्रमा सुधार ल्याउन सरकारले ठोस कदम चाल्ने विश्वास समेत व्यक्त गरेका हुन् ।
उनले प्रदेश सरकार अन्तर्गत रहेका अस्पतालहरुमा उपचारको हिसाबले सुधार ल्याउने प्रतिबद्ध समेत जनाए ।
कार्यक्रममा पूर्वमन्त्री राजलाल यादवले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवाको खाँचो रहेको बताए । उनले लहानमा सुबिधा सम्पन्न अस्पतालको स्थापना गर्न प्रदेश सरकारसँग आग्रह समेत गरे ।
हेल्थ केयरका प्रबन्धक मुनिलाल महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका केन्द्रिय सदस्य विजय सिंह दनुवार, जसपा नेपालका युवा नेता तथा प्रदेश कमिटी सदस्य राम चलितर महतो, दिपेश यादव, सुरेन्द्र कुमार यादव, ललिता दास, लहान नगर अध्यक्ष दिनेश महतो, जसपा नेता तथा संघीय परिषद सदस्य राम बहादुर यादवलगायतकाहरुको उपस्थिति रहेको थियोे ।