देश विकासका लागि राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन आवश्यकः उपेन्द्र यादव

जनकपुरधाम, ८ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध बनाउनका लागि शासक नभई व्यवस्था परिवर्तन आवश्यक रहेको बताएका छन् ।
सोमबार जनकपुरधाममा जसपा नगर समितिद्वारा आयोजित दशैं, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको जिकिर गरे ।
‘देशमा अहिलेसम्म निरन्तर सरकार परिवर्तनको खेल मात्रै चल्दै आएको छ । ओली सरकार गएपछि कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेको छ, तर जनताले यसको अनुभुति गर्न सकेका छैनन्, आवश्यकता सरकार परिवर्तनको नभई व्यवस्था परिवर्तनको हो,‘उनले भने ।’
अध्यक्ष यादवले राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन नभएसम्म मुलुक विकास र समृद्धिमा पछाडि नै रहने दावी समेत गरे । उनले न्याय प्रणाली, संघीय संरचना, निर्वाचन प्रणाली सहितका सामाजिक परिवर्तन आवश्यक रहेको जिकिर समेत गरे ।
पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ,उनले भने,‘यो प्रणाली लागू भएपछि देशमा निर्वाचन खर्च घटनुका साथै महगाई समेत नियन्त्रण हुन्छ र राजनीतिकमा तल्लोस्तरका व्यक्तिदेखि माथिल्लो स्तरका व्यक्तिसम्मको पहुँच हुनेछ ।’
‘अहिले एकात्मक न्याय प्रणाली छ यसलाई सबैको पहुँच हुने गरी संघीय न्याय प्रणालीमा परिवर्तन गर्नुपर्छ । संघीय संरचना अनुसार एकात्मक होइन संघीय प्रणाली अनुसार प्रदेशलाई शक्तिशाली बनाउन जरुरी छ,‘उनले भने ।’
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतका वक्ताहरुले पनि आ–आफ्नो धारणा राखेका थिए ।