चीनमा कोरोनाका नयाँ संक्रमित फेरि थपिँदै

एजेन्सी, ८ कार्तिक । चीनमा कोरोना भाइरसका नयाँ संक्रमित फेरि देखिन थालेका छन् । कोरोना भाइरस पुनः देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् ।
अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले जानकारी दिएका छन् ।
अक्टोबर १७ देखि संक्रमण लहर ११ प्रान्तमा फैलिएको आयोगका प्रवक्ता मि फेङले ब्रिफिङमार्फत् जानकारी दिए । मीका अनुसार अधिकांश संक्रमितले विगतमा अन्तरक्षेत्रीय यात्रा गरेका छन् । उनले महामारीबाट प्रभावित स्थानमा ‘आपतकालीन उपाय’ अपनाउनुपर्ने अपिल समेत गरेका छन् ।
गङसु र इनर मंगोलियाका केही शहरमा भाइरसका कारण बस तथा ट्याक्सी सेवा बन्द गरिएको यातायात मन्त्रालयका झोउ मिङले बताए । इनर मंगोलियाको एजिना क्षेत्रका बासिन्दा र यात्रीलाई सोमबारदेखि घरभित्रै बस्न भनिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय सरकारले विज्ञप्ति जारी गर्दै स्थानीयलाई घरभित्रै बस्न भनेको हो ।