विराटनगर, ८ कार्तिक । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परि बसका चालकसहित ६१ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान, उनकै ७ महिने छोरा निश्चल देवान रहेका छन् । मृतकमध्ये अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटना गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि झापा पठाइएको छ । बाँकीको पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

फिदिमको शिवा दोभानदेखि झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस सरखण्डे क्षेत्रमा सडकदेखि करिब २० मिटर तल खसेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।