तास खेलेको भिडियो बाहिरिएपछि सर्लाहीका तिन सुरक्षा अधिकारी जिम्मेवारीविहीन

सर्लाही, ८ कार्तिक । सर्लाहीका प्रहरी प्रमुखको सरुवा भएको एक दिन नबित्दै प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा सह–सचिव बाबुराम खतिवडालाई पठाइएको छ ।
सर्लाहीमा कार्यरत नेपाल प्रहरी र शसस्त्र प्रहरीका एसपीसँग प्रमुख जिल्ला अधिकारी महतोले तास खेलेको भिडियो बाहिरिएपछि उनीहरुलाई सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए ।
गृह मन्त्रालयले यसअघि आइतबार सर्लाहीबाट प्रहरी उपरिक्षक सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईलाई पठाएको छ । सशस्त्र प्रहरीको सर्लाहीस्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर गढीमाई बाहिनीमा कार्यरत भरत खनियालाई त्यहाँ पठाइएको छ ।