अमेरिकाले पठाएको १ लाख ६२० डोज फाइजर खोप नेपाल ल्याइयो

काठमाडौं, ८ कार्तिक । अमेरिकाले अनुदानस्वरुप पठाएको १ लाख ६२० डोज कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजर खोप सोमबार बिहान कतार इयरवेजको विमानमार्फत आइपुगेको हो ।
अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
तिहार र छठ पर्व सकिएपछि खोप लगाउने कार्यक्रम सुरु हुने जनाइएको छ । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।
फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोप लगाइएको छ ।अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले निर्माण गरेको यो खोप १२ वर्षमाथिको समूहमा प्रभावकारी देखिएको छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।
फाइजरको खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । आगामी पुसमा थप ६० लाख डोज खोप आएपछि बालबालिकामा लगाउने तयारी छ । नेपालले ६० लाख डोज फाइजर खोप किन्नको लागि सम्झौता गरिसकेको छ ।