जनकपुरधाम, ७ कार्तिक । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर-१० मा पुनः मतगणना हुँदा पराजित व्यक्ति जितेका छन् ।

उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज पुन: मतगणना हुँदा स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार रायको पक्षमा २६८ मत आएको हो ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका अरुणकुमार चौधरीको पक्षमा २६६ मत आएको छ ।

जिल्लाको मनरा सिस्वा नगरपालिका–१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपश्चात् सदर गरेपछि मतगणना भएको छ ।

अदालतको ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहो¥याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरियो । राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवैजनाको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरीलाई निर्वाचित गरिएको थियो ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो ।

उच्च अदालतको यस्तो आदेशपछि चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गर्यो ।

त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन ।अन्ततः दोहो¥याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।