प्रदेश १ मा अब दुई साता सरकार परिवर्तन नहुने

विराटनगर, ७ कार्तिक । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक कार्तिक १५ गतेसम्मका लागि सुचना टाँस गरेर स्थगित गरिएको छ ।
प्रदेश सभा सचिवालयले बैठक बस्ने मिति परिवर्तन गरि सुचना टाँस गरेर कार्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो । बैठक स्थगित भएसँगै अब दुई साता सरकार परिवर्तन नहुने भएको छ ।
प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक आज दिउँसो साढे १२ बजे बस्नेगरी कार्यसुची समेत निर्धारण गरिएको थियो ।आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन गइरहेका थिए, तर बैठक स्थगित भएपछि उनको सत्ता थप एक साता लम्बिएको छ ।
आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेको निवेदनका आधारमा स्थगन भएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।