जनकपुरधाम, ७ कार्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

जनकपुरधाम विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता सिंहले नेतृत्वपंक्तिले पार्टीलाई विधान अनुसार चलाउन नसकेपछि कमजोर हुँदै गइरहेको आरोप समेत लगाए ।

उनले पार्टीलाई विधि विधान अनुसार चलाउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको दावी गरे ।

‘पार्टी समयको माग र जनता कार्यकर्ताको भावना अनुसार अगाडी बढ्न सकेन, फलस्वरुप नेपाली कांग्रेस १३औँ महाधिवेशनपछि कमजोर हुँदै गयो त्यसपछि देशमा कम्युनिष्टहरु हावी हुँदै गए,’नेता सिंहले भने ।’

कम्युनिष्टहरु देशमा हावी भएकै कारण देशको प्रजातान्त्रिक व्यवस्था माथी प्रहार भईरहेको उनको आरोप थियो ।

नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टीलाई नयाँ नेतृत्व प्रदान गरेर संविधान कार्यान्वयन तर्फ नेपाली कांग्रेस लाग्नुपर्नेमा जोड दिए ।

आफू सभापतिको उम्मेदवारीबाट पछाडी नहट्ने दावी गर्दै नेता सिंहले सर्वसम्मतिबाट नेतृत्व चयनको सम्भावनाबाट भने इनकार गरेनन् ।

महाधिवेशनको मिति फेरी सार्ने तयारी भईरहेकोमा उनले आक्रोश व्यक्त गरे । आफ्नो पक्षमा माहौल बनाउन र आफ्नो पकड बनाउनकै लागि मिति सार्ने खेल भईरहेको उनको भनाई थियो । उनले भने ‘ ४/४ पटकसम्म महाधिवेशनको मिति सारी सकिएको छ फेरि पनि मिति सार्ने तयारी भईरहेको छ, यो नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई मान्य छैन, महाधिवेशन तोकिएकै मितिमा हुनु पर्छ ।’

पार्टीको महाधिवेशन हुन नसकेकै कारण पार्टीको वैधतामाथी नै प्रश्न उठिरहेको छ, साढे ५ वर्ष भित्रमा महाधिवेशन हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन त्यसैले पार्टीकै वैधतामाथी प्रश्न उठिरहेको उनको भनाई थियो ।