निर्वाचनको चार वर्षपछि महोत्तरीको एक वडाको आज पुनः मतगणना हुँदै


जनकपुरधाम, ७ कार्तिक । महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज मतगणना हुन लागेको छ ।
जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर–१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपश्चात् सदर गरेपछि मतगणना हुन लागेको हो ।
अदालतको ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोर्होयाएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।
०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरियो । राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याए । दुवैजनाको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरी निर्वाचित भए ।
निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो ।
उच्च अदालतको यस्तो आदेशपछि चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो ।
त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन ।अन्ततः दोर्होयाएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।
मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
