विराटनगर, ७ कार्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । आचार्यले आज दिउँसो बस्न लागेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री आचार्यले यसअघि नै शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव सदनमा टेबुल गराइसकेका छन् ।

नेपालको संविधान धारा १८८ को उपधारा २ र प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव सदनमा पेश गरेका हुन् ।

नेकपा एमालेका १० जना प्रदेशसभा सदस्य समाजवादीमा गएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । अल्पमतमा परेपछि बहुमत पु¥याउन आचार्यले कसरत गरिरहेका छन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ जना प्रदेशसभा सदस्य छन् । एक जना प्रदेशसभा सदस्य सरकारी कागजात किर्ते मुद्दामा फरार छन् ।

बहुमतका लागि ४७ सदस्य आवश्यक पर्ने प्रदेश एकमा विपक्षी गठबन्धन नतोडिएका कारण एमाले अल्पमतमा परेको हो ।