बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ७ कार्तिक । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइँदै छ ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकाहरुलाई औषधि खुवाउन आग्रह गरेको छ ।
सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनु पर्नेमा यस वर्ष दसैं परेका कारण कार्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।