एसेम्बलिङ्ग उद्योग स्थापना गर्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम, ६ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गरेका छन् ।
शनिबार धनुषाको ढल्केवरमा आयोजित जानकी अटोमोबाईल एशोसिएसनको प्रथम बार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले उद्योग ऐन ल्याइसकेकोला उद्योग सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरे ।
उनले भने,’तपाईंहरु उद्योग सञ्चालनको तयारी थाल्नुस, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो छ । थप ऐन कानुन चाहिए सुझाव दिनु होला, हामी ल्याउँछौं ।’
मुलुकको आर्थिक समृद्धि एवं रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको अटोमोबाईल क्षेत्र प्रति केन्द्रिय सरकारको धारणा सकारात्मक नहुनु दु:खद रहेको उल्लेख गर्दै राउतले प्रदेश सरकारको तर्फबाट हुनसक्ने सम्पूर्ण वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
बिलाशिता भन्दा पनि उपयोग वस्तुको रुपमा परिणत हुँदै गएको अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको उनको भनाइ थियो ।
जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, मिथिला नपाका प्रमुख हरिनारायण महतो सहितका वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।