धनुषामा एमाले वडा अधिवेशन जारी

जनकपुरधाम, ६ कार्तिक ।
धनुषामा नेकपा एमालेको वडा अधिवेशन जारी नै रहेको छ ।
शुक्रबार देखि धनुषाको विभिन्न वडामा हुँदै आएको वडा अविधेशन शनिबार साँझसम्म पनि जारी रहेको छ ।
धनुषाको विभिन्न स्थानीय तहमा रहेको करिब चार सय वडा मध्ये एक सय ७० वटा वडामा अधिवेशन नेकपा एमाले धनुषाले सम्पन्न गरिसकेको जनाएको छ ।
धनुषाको जनकपुरधाम, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनौजी गाउँपालिकालगायत १८ वटै स्थानीय तहमा वडामा अहिलेपनि वडा अधिवेशन जारी छ ।
जनकपुरधामको २५ वटा वडा मध्ये २२ वटा वडामा अधिवेशन सम्पन्न भईसकेको एमाले जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष श्याम पूर्वेले बताए ।
धनुषाको प्रायः वडामा वडा अधिवेशन जनकपुरधाम उपमहानगरको केहि वडामा, विभिन्न ग्रामिण भेग र नगरपालिकामा समेत साँझमा पनि भईरहेको भन्दै एमाले धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवले विहानसम्ममा धनुषा जिल्लामा वडा अधिवेशन सम्पन्न भईसक्ने बताए । उनले अहिलेसम्म वडा अधिवेशन सम्पन्न भएका अधिकांश वडामा सर्वसम्मतरुपमै वडा कार्य समितिहरु गठन गरिएको बताए ।
एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि एमाले सक्रियतापूर्वक निर्वाचन केन्द्रित भएर संगठन निर्माणमा जोडतोडले लागिपरेका छन् ।