एकीकृत समाजवादी निकट कर्मचारीको भवन कब्जा असफल

वीरगंज, ६ कार्तिक ।
नेकपा एकीकृत समाजवादी समर्थित नेपाल निजामती कर्मचारी संगठन पर्साको कार्यालय भवन कब्जा गर्ने गएका नेकपा एमाले पर्साका नेताहरुको प्रयास विफल भएको छ ।
एमाले निकट कर्मचारीहरुले वीरगंजस्थित निजागमती कर्मचारी संगठनको भवन योजनाबद्ध ढंगले कब्जा गर्न शनिबार पुगेका थिए । संगठनको भवन कब्जा गर्ने योजना बारे नेकपा एकीकृत समाजवादी निकटको कर्मचारी संगठनका नेताहरुलाई थाहा पाएपछि प्रतिकार गर्न उनीहरु समेत पुगेका थिए ।
एमाले निकटका कर्मचारीहरुले संगठनको भवनमा आफु निकट कर्मचारीहरु भेला गर्ने बहानामा कब्जा गर्न खाजे पनि नेकपा एकिकृत समाजवादी निकट कर्मचारीहरुले नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंज घण्टाघर नजिक रहेको रोयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।
पर्सामा सिंगो नेपाल निजामती कर्मचारी संगठन माधो नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट रहेको छ । सोही संगठनलाई फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका सह संयोजक लेखनाथ कोइराला, नौतम पोखरेल समेत पर्साको वीरगंज पुगेका थिए ।
संगठनको भवन कब्जा गर्न र संगठन फुटाउन प्रयासमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हाजरा, प्रदेश सदस्य बसरुदिन अन्सारी, प्रधुमन चौहान, वीरगंज महानगर सचिव सुन्दर कुर्मीको लगायतका नेताहरु समेत लागे पनि प्रयास विफल भएको हो ।
संगठनको भवन एक बर्ष अगाडी मात्र नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतको सक्रियतामा भवन निर्माण भएको थियो ।