जनकपुरधाम, ६ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित भएका कारण मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहले अमानवीय ढंगले यातना दिएको आरोप लगाइएको छ ।

दैनिक ज्यालादारी मजदुरी तथा ट्रयाक्टर चालककारुपमा काम गर्दै आफ्नो पाँच सदस्यीय परिवारको जाहान पाल्दै आईरहेका सदासँग चार वर्षअघि स्थानीय एजेन्ट रामहृदय यादवले विदेश पठाइदिन्छु भन्दै ९५ हजार रुपैयाँ लिएका थिए ।

वैदेशिक रोजगारीका लागि बहराइन पुगेका सदालाई दुई महिना नपुग्दैँ स्वदेश फर्किनु परेको थियो । कम्पनी नै ठप्प भएपछि स्वदेश फर्केपछि एजेन्ट रामहृदयसंग आफु ठगिएको भन्दै रकम माग गरेपछि उनले प्रहरी लगाएर आफुलाई अमानवीय ढंगले यातना दिएको पीडित सदाले आरोप लगाए ।

राज्यसम्म पहुँच नभएका निमुख्खा र अनपढ भएकै कारण जनावर झैँ अमानवीय व्यवहार गर्दै मुजेलिया प्रहरी चौकीका सई सिंहले आफ्नै संलग्नतामा एक प्रहरी जवानलाई लगाई दुई वटा बाँसको लाठी लिएर पिठ्यू, ढाड, दुवै खुट्टा भाच्ने गरि निर्घात हुने गरी कुटपीट गरेका छन् ।

एजेन्ट यादवले पीडित सदालाई फोन गरेर कार्तिक २ गते मुजेलियास्थित यातायात कार्यालयको छेउमा राति अन्दाजी ९ बजे तिर राजकुमार सदालाई बोलायो र त्यहाँ उनले सदालाई घेरा हालि कुटपीट समेत गरे । राजकुमार सदा समेत समूहमा रहेकाले उनले समेत प्रतिवाद गरेका थिए ।

त्यसपछि पीडक भनिएका एजेन्ट रामहृदयले सोही राति मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहलाई भनेपछि निजले त्यहिबेला राजकुमार सदाको घरमा गएर उनलाई समातेर ल्याएका थिए र त्यसपछि रातिनै करिब आधा घन्टासम्म कुटपीट गरेको उनले सुनाए ।
प्रहरीको यातनाबाट घाइते भएका पीडितको उपचार स्थानीय समर हस्पिटलमा हुँदैछ । तर रकम अभावको कारण हस्पिटलको रकम भुक्तानी गर्न नसक्दा आज दिउँसो उनलाई त्यहाँबाट बाध्य भएर घर फर्किनु परेको छ ।

यता पीडित राजकुमार सदाका दाई विजय सदाले भने आफ्नो परिवारमाथि प्रहरीले अमानवीय व्यवहार गरेको र यातना दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश २ मा न्याय तथा क्षतीपूर्तीको माग गर्दै उजुरी दिएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयमा समेत बोधार्थ गर्दै वैदेशिक रोजगारको लागि विदेश पठाईदिन्ुछ भनि आफुसंग ठगी गरेको ९५ हजार रुपैयाँ समेत उपलब्ध गराईदिन र प्रहरीले दिएको यातनामा समेत न्याय तथा सई समेतलाई कारवाहीको माग गर्दै निवेदन दिएका छन् ।

राष्ट्रिय मावनअधिकार आयोग प्रदेश २ कार्यालयका यातना विभागका प्रमुख मनमाया रानामगरले पीडितले उजुरी दिएको बताउँदै आफुहरु तत्कालै अनुसन्धान गरि कारवाहीको दायरामा ल्याउने बताइन् । उनले यातना दिने परिपाटीले प्रहरीको परम्परागत मानसिकतामा परिवर्तन आवश्यक रहेको औल्याउँदै उनले भनिन्,‘विगतमा भन्दा अहिले यातनामा कमी आएको छ, तर यो भने पर्याप्त होइन । यसका लागि प्रहरीले कार्यशैली र कामकारवाहीमा परिवर्तन ल्याउन जरुरी छ ।’

मुलुक पटक पटकको आन्दोलनमा राजतन्त्र देखि गणतन्त्र आउँदा सम्म पनि विभिन्न आरोपमा सर्वसाधारण जनतालाई पक्राउ गरी थुनामा राखि कुटपीट गर्ने कार्यलाई प्रहरीले रोक लगाउन नसक्दा मानवअधिकारको ठाडो उल्लंघन भईरहेको भन्दै मानवअधिकारकर्मी वीरेन्द्र कर्णले चिन्ता व्यक्त गरे ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले यस सम्बन्धमा आफुलाई केहि थाहा नभएको बताए । उनले भने,‘यो घटनाबारेमा बुझेर भन्छु, मलाई केहि थाहा भएन ।’