पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन

जनकपुरधाम, ६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष बरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ ।
विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार राति साढे २ बजे उनको निधन भएको हो ।
गत बुधबार उच्च रक्तचाप भएपछि ६० वर्षीय गुप्तालाई परिवारजनले विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरेका थिए । उनी विगत लामोसमयदेखि रक्तचापको दीर्घरोगी थिए ।
सिरहामा पत्रकारिताको जग गाडेका गुप्ता त्यहाँबाट ब्रोडसिट अखबार प्रकाशन गर्ने पहिलो व्यक्ति थिए । जिल्लामा उनको योगदान अविस्मरणीय रहेको सिरहाका पत्रकारहरुको भनाइ छ ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेशकुमार कर्णले उपाध्यक्ष गुप्ताको निधनले आफूहरु मर्माहित भएको बताए ।उनले गुप्ताको निधनले सम्पूर्ण सञ्चारजगतमा ठूलो क्षति पुगेको बताउँदै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।
गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।
गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।