ढल्केवरमा जलाइयो सिके राउतको पुत्ला

जनकपुरधाम, ५ कार्तिक । धनुषाको ढल्केवरमा जनमत पार्टीका अध्यक्ष सिके राउतको पुत्ला दहन गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न गरी दुर्व्यवहार गरेको विरुद्धमा ढल्केवरमा सिके राउतको पुत्ला जलाइएको हो ।
शुक्रबार साँझ स्थानीय इन्जिनीयर, कुशवाहा समाज र पिछडावर्ग महासभा युवासंघका कार्यकर्ताले संयुक्त रुपमा राउतको पुत्ला जलाएका हुन् ।
पुत्ला जलाउनुअघि उनीहरुले सिके राउत मुर्दावाद, जनमत पार्टी मुर्दावाद र इन्जिनीयर राजेशलाई न्याय दे जस्ता नारा लगाउँदै ढल्केवरचौकको परिक्रमा गरेका थिए ।
पूर्वचौकबाट निकालिएको ¥याली ढल्केवर चौकको परिक्रमा गर्दै सहिद स्मार्क पार्क अगाडि पुगेर उनीहरुले राउतको पुत्ला जलाएका थिए ।
पुत्ला जलाउने क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरीले जल्दै गरेको पुत्ला नियन्त्रणमा लिएर निभाएका थिए ।