इन्डोनेसियाको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपालको हार

काठमाडौं, ५ कार्तिक । नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ ।
नेपालले शुक्रबार ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा २–० को हार बेहोरेको हो ।
खेलको ५५ औँ मिनेटमा हनिस सागरले इन्डोनेसियालाई अग्रता दिलाएका थिए । थप गरिएको समयमा सुलेमनले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले छनोटको पहिलो खेल इरानसँग २५ अक्टोबरमा खेल्नेछ ।
नेपालले दोस्रो खेल ताजिकिस्तानसँग २८ अक्टोबरमा र अन्तिम खेल लेबनानसँग ३१ अक्टोबर ३१ मा खेल्नेछ ।