काठमाडौं, ५ कार्तिक । नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सि.डि.ई. राजेश कुशवाहा लगायतका कर्मचारीमाथि भएको आपराधिक कुकर्मको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले कानुनको धज्जी उडाएको बताए ।

‘यो पहिलो घटना होइन, निजामती कर्मचारीको महत्व सरकारले, मन्त्रीले, नेताले, स्थानीय प्रतिनिधिले बुझ्न सक्नुभएन, अहिले कर्मचारीमाथि चौतर्फी आक्रमण भइरहेको छ, कानुनको धज्जी उडेको छ, यो क्रियाकलापमा सामेल भएका सबै अराजक तत्वहरूप्रति म घोर निन्दा र भत्र्सना गर्दछु,’ अध्यक्ष पोखरेलले भने ।

प्रदर्शनमा नेपाल इन्जिनियर एशोसिएशन वागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको वयवहार हिंस्रक भएको बताए । उनले यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नायिकलेलाई कारबाही गर्नुपर्ने बताए ।