लोसपा विद्यार्थी संघले मन्त्रीलाई बुझाए धानको बाला

जनकपुरधाम, ५ कार्तिक । लोकतान्त्रिक समाजवादी विद्यार्थी संघले प्रदेश सरकार किसानहरुको पीडामा उदासिन रहेको भन्दै बिरोध स्वरुप मन्त्रीलाई धानको बाला बुझाएका छन् ।
लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ धनुषाका अध्यक्ष रितेश कुमार यादवको अगुवाईमा गएको विद्यार्थी नेताहरुको टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवलाई बिरोध स्वरुप धानको बाला बुझाएका हुन् ।
कार्तिक १ र २ गते भएको बेमौसमी वर्षाका कारण किसानहरु धान भित्र्याउन नपाउँदै पीडामा परेपनि प्रदेश सरकार उदासिन बनेकाले किसानहरुको तर्फबाट बिरोध स्वरुप धानको बाला बुझाइएको लोसपाका विद्यार्थी नेता रोशन मिश्रले जानकारी दिए ।
विद्यार्थी नेताहरुले धानको बाला बुझाउनुका साथै मन्त्री यादवलाई किसानहरुलाई अविलम्ब राहत उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् । प्रदेश सरकारले किसानहरुको माग सम्बोधन नगरे आफूहरु आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिए ।
ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले पीडित किसानहरुको लगत संकलन गर्ने कार्य भईरहेकोले चाँडै राहत उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे ।