जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम, ५ कार्तिक । जनकपुरमा डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
पक्राउ गरिएका कार्यकता रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेर्न पुगेका जनमतका कार्यकतामाथि प्रहरीले लाठी चार्ज गरेको हो ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुव्र्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसियनको अगुवाइमा विभिन्न पेशागत संघसंस्थाहरू ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको बेला प्रहरी र सिकेका कार्यकर्ताबिच झडप भएको थियो ।
पेशागत संघसंस्थाका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय पुगेको बेला जनमतका कार्यकर्ताहरु लाठीभाटासहित पुगेर उनीहरुसँग विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले लाठी चार्ज गरेपछि जनमत पार्टीका कार्यकर्ताहरू त्यहाँबाट भागेका थिए । प्रहरीले जनमतका कार्यकताले बोकेका ब्यानर तथा लाठीभाटाहरु पनि खोसेका छन ।