सिके राउतविरुद्ध इन्जिनियरहरु आन्दोलित

जनकपुरधाम, ५ कार्तिक । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेपछि प्रदेश २ का इन्जिनियरहरु आन्दोलित भएका छन् ।
राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु कार्यालयमा प्रवेश गरेर तोडफोड गर्दै निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाई नगरपरिक्रमा गराएपछि पेशागत हकहित संरक्षणको माग गर्दै इन्जिनियरहरु आन्दोलित भएका हुन् ।
नेपाल इन्जिनियर्स एशोसएसन प्रदेश २ मा आवद्ध इन्जिनियरहरु जुलुश निकालेर जनमत पार्टीका अध्यक्ष सिके राउत बिरुद्ध चर्को नारावाजी गरेका थिए ।
इन्जिनियरहरुले पीडित इन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारवाही गर, इन्जिनियर सुरक्षाको ग्यारेण्टी गर, सिके राउतको इन्जिनियरिङ्ग दर्ता खारेज गर लगायतका नाराहरु लगाएका थिए ।
इन्जिनियरहरुको सो जुलुश नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथी कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रुपमा नगर घुमाउनु कानूनी राज्यको उपहास रहेको भन्दै प्रजिअ बन्धुप्रसाद वास्तोलाई ज्ञापन पत्र बुझाएका हुन् ।
पेशागत रूपमा एक इन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले इन्जिनियरिङ्ग पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल इन्जिनिरिङ्ग परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल इन्जिनियरिङ्ग परिषदसँग माग गरेका छन् ।