जनकपुरधाम, ५ कार्तिक । जनकपुरधाम उद्योग वाणिज्य संघले जयनगर–जनकपुरधाम रेल सेवा अविलम्ब सञ्चालन गर्न माग गरेको छ ।

शुक्रवार भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई ज्ञापन पत्र बुझाउँदै संघका पदाधिकारीहरुले रेल सेवा सञ्चालन हुन नसक्दा यहाँका उद्योग व्यवसाय र पर्यटकीय विकासमा ठूलो असर परेको भन्दै अविलम्ब सञ्चालन गर्न माग गरेका हुन ।

संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाईमा बुझाइएको ज्ञापन पत्रमा भारत सरकारको सहयोगमा सीमावर्ती जयनगर देखि बर्दिबाससम्म ७२ किलोमीटर मध्ये जयनगर जनकपुर (कुर्था) सम्म प्रथम चरणको पुर्वाधार भइसकेको र रेलको इन्जन बोगी समेत किनेको एक वर्ष बितिसक्दा संचालन नहुनु दुर्भाग्य हो । सो रेल सेवा संचालनमा आउन नसक्दा राष्ट्रकै उद्योग, व्यवसाय तथा पर्यटनमा अत्यधिक नाकारात्मक असर परेकोले अविलम्ब सञ्चालन गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर पनि जयनगर जनकपुरधाम (कुर्था) रेल संचालनमा ल्याउने प्रतिबद्धता जनाईन । उनले भनिन्,‘अहिलेसम्म कानूनी अड्चनका कारण समस्या थियो तर अब विधेयक पनि राष्ट्रिय सभाबाट फिर्ता भइसकेको कारण चांडै अध्यादेश मार्फत रेल संचालनमा ल्याउने गरी तयारी अघि बढाइनेछ ।’

उनले आगामी विवाह पञ्चमी देखि नै रेल सञ्चालन हुन्छ भन्ने ग्यारेन्टी नभएपनि चाँडै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी संघका पुर्व अध्यक्ष निर्मल चौधरीले जयनगर जनकपुर रेल संचालनमा आएपछि यहाँका उद्योग व्यवसाय फस्टाउनुका साथै पर्यटकीय क्षेत्रमा समेत राम्रो विकास हुने विश्वास व्यक्त गरे ।