जनकपुरधाम, ५ कार्तिक । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी नगर भरि घुमाएर दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाएको छ ।

जनमतका कार्यकर्ताले संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार दिउँसो कुटपिट गर्दै कार्यालयबाटै अर्धनग्न गरि नगर घुमाएका थिए ।

शुक्रवार सो घटनामा पक्राउ परेकाहरु मध्ये १७ जना माथि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत धनुषामा अपराधि प्रवेश तथा अपराधिक उपद्रव शिर्षकमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

मुद्दा चलाइएकाहरु सिरहा, सर्लाही र महोत्तरीका कार्यकर्ताहरु रहेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सो घटनालाई जनकारवाही भएको र यसमा जनताहरुको सहभागिता रहेका बताएका थिए । तर पक्राउ परेकाहरु धनुषाका मात्र नभई सिरहा र सर्लाहीका समेत रहेका छन् । मुद्दा चलाइएकाहरुमध्ये सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजना कार्यकर्ता रहेका छन् ।

जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, विजय कुमार यादव, संजय प्रधान, धनिकलाल कापर, कैलाश प्रसाद साह, श्याम सुन्दर मण्डल, सिरहाका महेश कुमार यादव, सौदी मण्डल, दुर्योधन यादव, प्रेम किशोर यादव, , राम करण यादव, दिनेश रजक साफी, अमरनाथ साह, महोत्तरीका संजय कुमार साह, विरेन्द्र महतो, विक्रम कुमार साह र सर्लाहीका संजय कुमार सिंहमाथि मुद्दा चलाइएको हो ।

डीएसपी बस्नेतले यो मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने बताए । यस घटनामा प्रहरीले सुरुमा १० जनालाई नियन्त्रणमा लिएको थियो भने पछि थप ५२ जनालाई नियन्त्रणमा लिएका थिए । पछि प्रहरीले अबेर राति ४५ जनालाई छाडेका थिए भने १७ जनामाथि मुद्दा चलाइएको हो ।