जनकपुरधाम, ४ कार्तिक । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताद्वारा गरिएको दुर्व्यवहारप्रति नेपाल इन्जिनियर्स एशोसिएसनले भत्सर्ना गरेको छ ।

राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु कार्यालय परिसर मै गएर कुशवाहाको लुगा च्याति हातपात गरेको तथा नगर परिक्रमा गराइ दुर्व्यवहार गरेको घटनाप्रति नेपाल ईन्जिनियर्स एसोसिएसन प्रदेश २ ले भर्त्सना गरेको हो ।

देशमा कानुनी राज्य हुँदाहुँदै कानुन तथा वार्ताको माध्यमबाट कुनै समस्याको समाधान खोज्नुपर्नेमा उदण्डता र अराजकताको पराकाष्ठा नाघ्दै कानुन हातमा लिएर उच्छृङ्खल गतिविधि गरी एक राष्ट्रसेवक कर्मचारीमाथी गरिएको दुर्व्यवहारपूर्ण घटना कुनै पनि हालतमा क्षम्य हुन नसक्ने एशोसिएसनले जनाएको छ ।

उनीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष सिके राउत सहित घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल गिरफ्तार गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

पेशागत रूपमा एक ईन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले ईन्जिनिरिङ्ग पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल ईन्जिनिरिङ्ग परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल ईन्जिनियरिङ्ग परिपदसँग माग गरेका छन् ।

विभिन्न समय समयमा ईन्जिनियरहरुमाथि हुने हातपात तथा दुर्व्यवहारका घटनाहरुमा दोषीहरु माथि कारवाही नभएकै कारण पटकपटक दोहोरिने गरेकाले नेपाल सरकार उपर दवाब दिन यस घटनाको विरोध गर्न तथा विरोधका कार्यक्रमहरुमा सहभागी भइ एक्यबद्धता प्रकट गर्न सम्पूर्ण ईन्जिनियर वर्गमा अपील गरिएको छ ।

साथै शुक्रबार बिहान १० बजे उक्त घटनाको विरोध गर्न संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय परिसर चापाचौक जनकपुरमा सम्पूर्ण संघसंस्था आबद्ध ईन्जिनियर, आर्किटेक्ट, पेशाकर्मी, बुद्धिजीवि तथा विद्यार्थीहरूमा उपस्थितिका लागि आग्रह समेत गरिएको छ ।

उनीहरूले आफूहरूको मागलाई वेवास्ता गरिए क्रमबद्ध आन्दोलनका विभिन्न कदमहरु चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।