जनकपुरधाम, ४ कार्तिक । स्थानीय प्रशासनले सिके राउत नेतृत्वको जनमत पार्टीका ५ दर्जन भन्दा बढि कार्यकर्तालाई पक्राउ गरेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुखलाई कालोमोसो दलेर नगर परिक्रमा गराएको आरोपमा प्रहरीले राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

घटना लगत्तै शुरुमा प्रहरीले १०/१५ जनालाई पक्राउ गरेको थियो । त्यसपछि आफ्ना कार्यकर्तालाई रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेकाहरु मध्येबाट थप व्यक्तिलाई समेत गरी ६२ जनालाई पक्राउ गरेको छ ।

स्थानीय प्रशासनले पक्राउ परेकाहरुलाई कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता जनाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले एक राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न बनाएर बजारमा घुमाउने सहितका दुव्र्यवहार आपत्तिजनक, अमानीय र अपराधिक रहेको बताए ।

‘घटनाको छानबीन गरी संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने कार्य शुरु भईसकेको छ, उनीहरुमाथि कानून बमोजिम कारवाही हुनेछ,’उनले भने ।

वास्तोलाले यस घटनाले कुनै कार्यालयका कर्मचारीलाई नआतिन/नडराउन आग्रह गर्दै तिनीहरुको सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको समेत बताए ।

यसैबीच सिके राउतको सचिवालयले सामाजिक सञ्जालमार्फत शुक्रवार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने जनाएको छ । पक्राउ परेका कार्यकर्ताहरुलाई यथाशिघ्र रिहा नगरे आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।