बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई काँग्रेसले २५ हजार दिने

काठमाडौं, ४ कार्तिक । सत्तारुढ दल नेपाली काँग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई जनही २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ ।
नेपाली काँग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले यस्तो घोषणा गरेको हो ।
समितिका संयोजक तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारलाई २५ हजार राहत उपलब्ध गराउने उल्लेख गरिएको छ ।
बाढीपहिरो पीडितको उद्दार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन् । साथै उनले सरकार सम्बन्धित निकाय, गैर सरकारी संस्था, स्वदेश तथा विदेशमा रहेका सहयोगी मनलाई सहयोगका लागि अनुरोध पनि गरेका छन् ।
यस्तै काँग्रेस केन्द्रीय समिति सदस्य तथा समितिका सचिव किरण गिरीले काँग्रेस जनताको सुख–दुःख र संकटमा निरन्तर साथ हुने बताए ।