बाढीपहिरो र डुबानबाट देशभर ८८ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं, ४ कार्तिक । गत आइतबारदेखि सुरू भएको अविरल वर्षाका कारण बिहीबार बिहानसम्म देशभरमा ८८ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयका अनुसार बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट देशभर थप ३० जना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये अधिकांशको पहिरोमा परी ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ ।
यसअघि बुधबार ६३ र मंगलबार १४ जनाको मृत्यु भएको थियो । पहिरोमा परी पाँचथरमा सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ भने इलाम र डोटीमा १३–१३ जनाको मृत्यु भएको छ ।
यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो बाढी पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता छन् भने पाँचथरमा चार जना हराइरहेका छन् ।