किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

जनकपुरधाम, ३ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित किसानहरुका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २ को धानवालीमा व्यापक क्षति भएको बताउँदै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका हुन ।
पछिल्लो बाढीले देशैभर ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागि प्राधिकरणको बैठक बोलाएको थियो ।
बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्दै संघ सरकारले प्रदेश २ को किसानहरुका लागि विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो बाढीले धानबालीमा पुर्याएको क्षतिका कारण प्रदेश २ का किसानहरु सबै भन्दा बढी समस्यामा परेका छन ।