एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोली ताजिकिस्तान प्रस्थान

काठमाडौं, २ कार्तिक । एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको जनाएको हो ।
छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए । ताजिकिस्तान जाने ३५ सदस्यीय नेपाली टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् ।
अक्टोबर २५ देखि ३१ सम्म हुने एएफसी यू–२३ एसियन कप छनोटको समूह ‘बी’ मा नेपाल, ताजिकिस्तान, इरान र लेबनान छन् ।नेपालले अक्टोबर २५ मा इरान, अक्टोबर २८ मा ताजिकिस्तान र अक्टोबर ३१ मा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।
एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहका विजेताले सिधै मुख्य प्रतियोगितामा स्थान बनाउने छन् । उपविजेतामध्ये उत्कृष्ट ४ टोलीले पनि एएफसी यु–२३ एसियन कप खेल्न पाउने छन् । मुख्य प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ ।
२३ सदस्यीय नेपाली टोलीमा गोलरक्षक विशाल सुनार, अर्पण कार्की, अभिषेक बराल रहेका छन् भने डिफेन्डरमा गौतम श्रेष्ठ, सुमन अर्याल, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु र शिव गुरुङ छन् । त्यस्तै, मिडफिल्डरमा आयुष घलान, नितिन थापा, सुरज ज्यु ठकुरी, सेसेहाङ आङदेम्वे, एरिक विष्ट, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहारी छन् भने फरवार्डतर्फ दर्शन गुरुङ, मनिष डाँगी, अभिषेक रिजाल र ऋतिक कुमार खड्का रहेका छन् ।