महाकालीमा फसेका ५ जनाको १५ घण्टापछि सेनाको हेलिकप्टरद्वारा उद्धार

कैलाली, २ कार्तिक । कञ्चनपुरस्थित महाकाली नदीमा १५ घण्टादेखि फसेका ५ जनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुमा भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय अशोक नायक र ५ वर्षीय अजय नायक रहेका छन् ।
उनीहरु सोमवार रातिबाट महाकाली नदीको बीच भागमा फसेका थिए । उनीहरुले नदीको बीचमा रहेको रुखमा बसेर बाँच्न सफल भएका थिए । उनीहरु कुखुराको खोरमा काम गर्ने क्रममा नदी किनारमा गएको बेला एक्कासी बाढी आएकोले नदी तर्न नसेकर फँसेको बताइएको छ ।
प्रतिकुल मौसमका वाबजुद सेनाको हेलिकप्टरले उनीहरुलाई उद्धार गरेको जनाइएको छ । उद्धारका लागि दिउँसो ४ बजे नै हेलिकप्टर त्यस क्षेत्रमा पुगेको थियो । तर, भिजिबिलिटी कम भएपछि उद्धारमा कठिनाइ भएको थियो ।
सेनाको हेलिकप्टर डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडको खोँचबाट मुसेट्टी पु¥याउन खोजिएको थियो । तर, भिजिबिलिटि कम भएपछि धनगढी फिर्ता भएको थियो । लामो समयको प्रयासपछि सेना उद्धार गर्न सफल भएको बताइएको छ ।