कैलाली, २ कार्तिक । बझाङमा मंगलबार पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।

जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा पहिरो जाँदा सो संख्यामा मानिसहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको स्थानीयले जनाएका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल रहेका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् ।

गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले जानकारी दिए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए ।