सजायस्वरुप इंग्ल्यान्डले आफ्नो एक खेल दर्शकबिना खेल्ने

एजेन्सी । युरो २०२० को फाइनलका दौरान वेम्बली स्टेडियमा भएको हिंसाको सजायस्वरुप इंग्ल्यान्डले आफ्नो एक खेल दर्शनबिना खेल्नुपर्ने भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफको कारबाहीमा परेपछि इंग्ल्यान्डले युरोपियन प्रतियोगिताको एक खेल दर्शकबिना खेल्नु पर्ने भएको हो ।
इंग्ल्यान्ड फुटबल संघलाई १ लाख युरोसमेत जरिवाना गरिएको छ । इंग्ल्यान्ड फुटबल संघले यूईएफएको यो निर्णयबाट दुःखी भए पनि यसलाई स्वीकार्ने जनाएको छ ।
गत जुलाई ११ मा वेम्बलीमा भएको युरोको फाइनल खेलमा इंग्ल्यान्ड इटालीसँग पेनाल्टीमा पराजित भएपछि समर्थकहरु र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
सयौं समर्थकहरु वेम्बलीमा बिना टिकट प्रवेश गरेर खेलाडीको परिवारको लागि सुरक्षित गरिएको स्थानमा गएर बसेका थिए । सो घटनालाई लिएर प्रहरीले ५१ जनालाई पक्राउ गरेको थियो ।
इंग्ल्यान्डका समर्थकले इटालीको राष्ट्रिय धुनलाई समेत गिज्याएका थिए । युरो अन्तर्गत नै डेनमार्कविरुद्धको सेमिफाइनलमा भिडभाडको समस्या भएको भन्दै इंग्ल्यान्डलाई २५ हजार पाउण्ड जरिवाना गरिएको थियो ।
इंग्ल्यान्डलाई विश्वकप छनोट अन्तर्गत नेभेम्बर १३ मा घरेलु मैदान वेम्बली स्टेडियममा अल्बानीयाको समना गर्दैछ । यो खेल विना दर्शक हुनेछ ।