काठमाडौं । माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली पुरुष राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएको छ ।

पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।

विमानस्थलमा टोलीलाई स्वागत गर्न पुगेका युवा तथा खेलकुद मन्त्री गहतराजले फुटबल अगाडि बढाउनका लागि सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

यस अघि राजीनामा दिइसकेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएनन् । उनी बाहेक फर्किएको टोलीलाई स्वागत गर्न पदाधिकारी बाहेक फुटबल समर्थकहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले टोलीलाई हौसला प्रदान गर्दै नारा बाजी समेत गरेका थिए ।

पाँच देशले सहभागिता जनाएको प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको थियो । जसमा नेपालले लिग चरणका चार खेल मध्ये दुई खेलमा जित निकाल्दा एक खेल भारतसँग पराजित भएको थियो । लिग चरणमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनल प्रवेश गरेर इतिहास बनाएको थियो ।

विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताए ।

अहिले टोलीमा युवा जोश भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको कप्तान किरणले बताए ।

शनिबार मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदा उपविजेतामा चित्त बुझाएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।