नेकपा (एस)ले दलाल प्रवृत्ति भएका पुरुषलाई मात्र स्थान दियो: नेतृ यादव

जनकपुरधाम । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विस्तार गरेको केन्द्रीय कमिटी र कार्यविभाजनप्रति पार्टीकै एक नेतृले असन्तुष्टि जनाएकी छन् ।
विस्तार केन्द्रीय कमिटी अन्तर्गत प्रदेश २ मा पुरुषलाई मात्र प्राथमिकता दिएको प्रदेश सभा सदस्य समेत रहेकी नेकपा (एस) की नेतृ मञ्जु यादवले आरोप लगाएकी हुन् ।
उनले पार्टीले दलाल प्रवृत्ति भएको पुरुषलाई मात्र स्थान दिएको जिकिर गरेकी छन् । सामाजिक सञ्जालमा प्रश्न गर्दै उनले भनिन्,‘माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, सालि, नातागोतालाई मनोनित गर्ने ?’
नेतृ यादवले पार्टीभित्रका महिला नेतृहरु कसैको दास नरहेको बताउँदै अगाडि लेखेकी छन्,‘चुनौतिका साथ भन्छु आउने चुनावमा माथिल्लो कमिटीमा बसेको नेताहरु प्रतिनिधिसभाको चुनावको टिकट लिने आँट गरोस् । हामी जस्तो महिलाहरु तिमिहरुको दास होईन् । हुन पनि सक्दैनौं ।’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हिजोमात्रै ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको थियो ।