जम्मु–कश्मीरमा जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु

एजेन्सी । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ ।
मारिनेमा भारतीय सेनाका ९ जना रहेका छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ ।
भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए ।
अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको बीबीसी हिन्दीले जनाएको छ । यसबीच कस्मिरको कुलमागमा आइतबार गोली हानेर दुई जना गैरकस्मिरी नागरिकको हत्या गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार आतंकवादीद्वारा उत्तर प्रदेशको सहरानपुरका सगिर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह मारिएका हुन् । त्यसअघि शनिबार पनि आतंकवादीले दुई जना मजदुरको हत्या गरेका छन् । सर्वसाधारणको हत्याले कस्मिरका राजनीतिक दल आक्रोशित भएका छन् ।
यसपछि भारतीय सुरक्षा बलले थालेको अपरेसन अभियानका क्रममा १३ जना आतंकवादी मारिएको दाबी गरिएको छ । आतंकवादी समूह र सेनाबीच मुठभेड चलिरहँदा जम्मु–कस्मिरमा आतंकवादीलाई सहयोग गरेको आरोपमा सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ ।
पछिल्लोपटक जम्मु–कस्मिर प्रशासनले अलगाववादी नेताका रूपमा परिचित सइद अली शाह गिलानीका नाति अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।