काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल गरिएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निस्कर्षमा नपुगिएको बताए । उनले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताए ।

महराले भने, ‘आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भयो । खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ निस्कर्षमा पुगेको छैन । भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ । एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ ।’

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलवार बिहान ८ बस्नेछ । मंगलबारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताए ।