आइसिसी टि–२० मा ओमानको विजयी शुरुवात, पपुवा न्युगिनीमाथि १० विकेटको शानदार जित

काठमाडौं । आइसिसी टि–२० पुरुष विश्वकपमा घरेलु टोली ओमानले विजयी शुरुवात गरेको छ । उसले आइतबारको खेलमा पपुवा न्युगिनीमाथि १० विकेटको शानदार जित हात पारेको हो ।
प्रतियोगिताको पहिलो चरण अन्तर्गत भएको समूह ‘बी’को खेलमा पपुवा न्युगिनीले दिएको १३० रनको लक्ष्य ओमानले १३.४ ओभरमा विना कुनै विकेट गुमाउँदै पुरा गर्यो ।
पहिलो विकेटका लागि जतिन्दर सिंह र आकिब इलियासले अविजित १३१ रनको साझेदारी गर्दै ओमानलाई सहज जित दिलाए ।जतिन्दरले अविजित ७३ रनको योगदान दिने क्रममा ४२ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । आकिब ४३ बलमा ५ चौका र १ छक्काको मद्दतले ५० रनमा अविजित रहे ।
यसअघि ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनको योगफल तयार पारेको थियो । ओमानका लागि कप्तान असाद भालाले अर्धशतकिय पारी खेले । १४.१ ओभरमा कालिमुल्लाहले जतिन्दर सिंहबाट क्याच गराउनुअघि उनले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
बिना कुनै रन २ विकेट गुमाएको अवस्थामा भाला र कार्लेस अमिनिले तेस्रो विकेटका लाथि ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै न्युगिनीको पारी उकासेका थिए । ११.३ ओभरमा रन आउट हुनुअघि अमिनीले ३७ रन बनाए । सिसे बाउले १३ रन जोड्दा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
ओमानका जिसन मक्सुदले ४, बिलाल खान र कालिमुल्लाहले २–२ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । जितसँगै ओमानले २ अङ्क जोड्दा पपुवा न्युगिनीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब दोस्रो आफ्नो खेलमा ओमानले बङ्गलादेशको सामना गर्दा पपुवा न्युगिनीले स्कटल्याण्डसँग खेल्ने छ ।