बोक्सी रहेको भन्दै देवरले भाउजुको हत्या गरेको प्रहरीको भनाइ

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–३ डाम्ही मडईकी एक महिलालाई हत्या गरिएको तिन दिन नबित्दै प्रहरीले आरोपितलाई पक्राउ गरेको छ ।
स्वर्गीय लालकिशोर झाकी ४२ वर्षीया पत्नी शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवर संजय झाले हत्या गरेको महोत्तरी प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
भाउजुसँगको लेनदेन र घरमा एक्कासी विभिन्न समस्याहरु आउने गरेकाले उनले बोक्सीको आरोपमा शिलादेवीको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
शिलादेवीले दिएको केरा खाँदा संजयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराएपनि ठीक नभएकाले उनी बोक्सी नै रहेको भन्दै संजयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चाले जानकारी दिए । शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने धार्मिकविश्वासको कारण देवर संजयले भाउजूको हत्या गरेको उनले बताए ।
शिलालाई संजयले दिएको १२ लाख ३९ हजार सापटी समेत नदिएको हुनाले पनि हत्या भएको हुनुपर्ने महोत्तरी प्रहरीको अशंका छ ।शिलादेवी घरमा सुतिरहेको अवस्थामा बिहीबार राति टाउकोमा हथौडा प्रहार गरी संजयले उनको हत्या गरेको स्वीकारेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।
बिहिबार बिहान ३ बजेको समयमा शिलादेवीको टाउकोमा हथौडाले हानेर हत्या गरी संजय पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी आचार्यले बताए ।
आरोपित संजय जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित सोनापाडामा बसेर मजदुरीको काम गर्दै आएका थिए ।