जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराईवासी बीचको भावनात्मक सम्बन्धलाई जोड्नका लागि आफूले सभापतीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

आइतबार धनुषा निर्वाचन क्षेत्र नम्बर १ को धनुषाधाममा विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले हिमाल र पहाडका साथीहरु नेपाली काँग्रेसको सभापतिमा आफूलाई हेर्न चाहिरहेको बताए ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न उनले आग्रह गरे । निधिले भने, ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छु, सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईंहरुको समर्थन चाहेको हुँ ।’

उनले कांग्रेसलाई नयाँ अवस्थामा ल्याउन सभापतिमा उम्मेदवारीको घोषणा गरेको समेत बताएका छन् । उनले भने, ‘पुरानो होइन कांग्रेसलाई म नयाँ अवस्थामा ल्याउन चाहेको छु । संघीयता र गणतन्त्रको रक्षा गर्नसक्ने कांग्रेस बनाउन चाहेको छु । देशमा कांग्रेसको सरकार बनाउन चाहेकोले सभापति बन्न चाहेको छु ।’

‘मधेशमा नेपाली कांग्रेस लगातार किन हारिरहेको छ ? बिपी देखिको अहिलेसम्मको इतिहास हेर्ने हो भने मधेशमा जितेको बेला देशमा कांग्रेसको सरकार बनेको छ,’ उनले भने, ‘मधेशमा कांग्रेसलाई जिताउन पनि तपाईं सभापति बन्नुपर्छ पहाडका साथीहरूले भन्नु भएको छ । त्यसैले पहिले घरबाट समर्थन पाउन चाहेको छु । सभापतिमा मत दिने वातावरण बनाइदिनुस् ।’

बिपी कोइरालाले २४ वर्षकै उमेरमा आफूलाई नेविसंघको केन्द्रीय सभापति बनाएको स्मरण गर्दै निधिले बिपीको त्यो विश्वासलाई डगमगाउन नदिएको दाबी गरे । उनले भने ‘२४ वर्षकै उमेरमा नेविसंघको सभापति बन्ने सौभाग्य बिपीले मलाई दिनुभयो । बिपीको त्यो विश्वासलाई डगमगाउन दिएको छैन, उहाँको सपनालाई कमजोर हुन दिएको छैन ।’

कम्युनिस्ट र मधेशवादी दललाई भोट दिएको परिणाम सबैजनाले भोगिरहेको भन्दै उनले आगामी निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउनुपर्ने जिकिर गरे । पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेको र सभापति देउवाले आफूलाई सहयोग गर्ने वचन १३ औँ महाधिवेशनकै बेला दिएको उनले स्मरण गरे ।

कार्यक्रममा पूर्वमन्त्री राम कृष्ण यादव, प्रतिनिधि सभा सदस्य स्मृति नारायण चौधरी, प्रेम किशोर साह, प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री राम सरोज यादवलगायत जिल्ला भरिका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।