किसानले पाउनुपर्ने सेवा सुविधा गैर किसानले पाएकोप्रति मन्त्री यादवद्वारा दुःख व्यक्त

जनकपुरधाम । कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले किसानले पाउनुपर्ने सेवा सुविधा गैर किसानले पाएकोमा दुःख व्यक्त गरेका छन् ।
आइतबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री यादवले किसानका लागि राज्यले प्रदान गरेको सेवा सुविधाहरू केही टाठाबाठाले मात्र पाउनु दुःखद रहेको बताए ।
उनले यस्तै कारणहरुले गर्दा कृषिको उत्पादन र किसानको जीवनस्तर माथि उठ्न नसकेकोप्रति चिन्ता समेत व्यक्त गरे । मन्त्री यादवले राज्यले प्रदान गर्ने कृषि क्षेत्रको अनुदान तथा सहुलियत वास्तविक किसानको हातमा पुग्न जरुरी रहेको बताए ।
मन्त्री यादवले सरकारले कृषि क्षेत्रको विकासका लागि प्रदान गरेको बजेट तथा कार्यक्रम पारदर्शी रुपमा सञ्चालन गर्नका लागि कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।